रौतहट, २१ मंसिर।
जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएका तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय बिकी पाण्डे रहेका छन्।
गत भदौ २४ गते रौतहटका विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याइएको थियो। सोही घटनामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भएको आगजनी तथा प्रहरी गाडी तोडफोडमा पनि पाण्डे प्रत्यक्ष रूपमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।
विशेष सूचनाका आधारमा प्रहरीले उनलाई मंसिर १८ गते राति नियन्त्रणमा लिएको हो। पाण्डेमाथि ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि सोही घटनामा संलग्नताको आरोपमा चन्द्रपुर–४ का ३२ वर्षीय दीपक बस्नेत र चन्द्रपुर–८ का ४३ वर्षीय हरिनारायण चौधरी पक्राउ परेका थिए। ती तीनैजनालाई अदालतको म्याद थप आदेशपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बस्यालले बताए।
जेन–जी आन्दोलन चलेको दिन रौतहटको गौर, गरुडा, चन्द्रनिगाहपुरसहित करिब आधा दर्जन स्थानीय तहमा सार्वजनिक तथा निजी संरचनामा क्षति पुगेको थियो। घटनामा संलग्न व्यक्तिहरूलाई सीसीटीभी फुटेज र प्राप्त सूचनाका आधारमा पहिचान गरी पक्राउ प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

