काठमाडौँ, २४ मंसिर २०८२
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री र लोकतान्त्रिक मूल्यअनुरूप सञ्चालन गर्न सबै पक्षसँग आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थिति सामान्यीकरणका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ता र सर्वसाधारण सबैको संयमित तथा सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन्। उनका अनुसार लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सबै पक्षको सामूहिक जिम्मेवारी हो।
सन्देशमा उनले विश्वभरि न्यायपूर्ण र समतामूलक समाज निर्माणमा राष्ट्रहरू अग्रसर भइरहेका बेला नेपालले समेत संविधानमा सुनिश्चित गरिएका मौलिक हक कार्यान्वयनमा अझ प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरे।
राष्ट्रपतिले मानव अधिकारलाई ‘मानवले मानवजस्तो भएर बाँच्न पाउने जीवनको आधार’ भन्दै यसको महत्व उच्च रहेको दोहोर्याए। मानव अधिकार जन्मसिद्ध हक भएको र मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख विषयवस्तुलाई नेपालले संविधानमार्फत अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्याय मजबुत बनाउन योगदान पुर्याउँदै आएको उनले स्मरण गराए।


