२८ मंसिर ,काठमाडौँ — नेकपा एमालेमा नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको समयमा तीन जना वरिष्ठ नेताले सक्रिय राजनीतिबाट अलग रहने निर्णय सार्वजनिक गरेका छन्। उनीहरूले पार्टी सदस्यता भने कायम राख्ने बताएका छन्।
सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गर्नेमा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा पार्टी अनुशासन आयोगका अध्यक्ष केशव बडाल रहेका छन्। उनीहरूले अब कुनै पनि पदका लागि उम्मेदवारी नदिने स्पष्ट पारेका छन्।
११औँ महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेका बेला सात दशक उमेर नाघेका नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। यही पृष्ठभूमिमा तीन वरिष्ठ नेताले स्वेच्छिक रूपमा राजनीतिबाट अलग हुने निर्णय लिनुलाई पार्टीभित्र नेतृत्व संस्कृतिका लागि फरक उदाहरणका रूपमा हेरिएको छ।
महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा उनीहरूले सक्रिय राजनीति र नेतृत्व भूमिकाबाट क्रमशः बाहिरिने घोषणा गरेका हुन्। नेतृत्व पदका लागि विधान परिवर्तनसम्मको चर्चा चलिरहेका बेला उनीहरूको निर्णयले पार्टीभित्र छुट्टै सन्देश दिएको छ।

