४ पुस, काठमाडौं ।
बंगलादेशका चर्चित विद्यार्थी नेता शरिफ उस्मान हादीको मृत्यु भएपछि राजधानी ढाकासहित देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन चर्किएको छ। गोली लागेर गम्भीर घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा निधन भएपछि स्थिति झन् तनावग्रस्त बनेको हो।
हादीको मृत्युपछि बिहीबार ढाकाको धानमन्डी, शाहबागलगायत क्षेत्रमा प्रदर्शनकारी सडकमा उत्रिएर तोडफोड र आगजनीमा उत्रिएका थिए। रातभर चलेको हिंसाका क्रममा सञ्चारगृह, सांस्कृतिक भवन तथा ऐतिहासिक संरचनासमेत आक्रमणको निशानामा परेका छन्।
बीबीसीका अनुसार प्रदर्शनकारीले प्रोथोम आलो र डेली स्टार अखबारका कार्यालयहरूमा आक्रमण गरेका थिए। आगजनीका बेला ती भवनभित्र रहेका पत्रकारहरू जोखिममा परे पनि सुरक्षाकर्मी र दमकलको सहयोगमा उनीहरूलाई सुरक्षित बाहिर निकालिएको थियो।
नागरिकलाई संयमता अपनाउन सरकारको आग्रह
देशमा बढ्दो तनावबीच अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन्। उनले अफवाह र उत्तेजक प्रचारप्रति सचेत रहन तथा भावनामा बगेर निर्णय नगर्न अपिल गरेका छन्। साथै, सरकारले शनिबार राजकीय शोक मनाउने घोषणा पनि गरेको छ।
इन्कलाब मञ्चका अनुसार हादीको शव शुक्रबार बंगलादेश ल्याइने तयारी भइरहेको छ।
गोलीकाण्डदेखि मृत्युसम्म
गत शुक्रबार ढाकाको एक मस्जिदबाट बाहिरिने क्रममा हादीमाथि गोली प्रहार भएको थियो। टाउकोमा गोली लागेपछि गम्भीर अवस्थामा रहेका उनलाई थप उपचारका लागि १५ डिसेम्बरमा सिंगापुर लगिएको थियो। उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको हो।
उनको निधनप्रति बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी, नेशनल सिटिजन्स पार्टी (एनसीपी) लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्।
को हुन् शरिफ उस्मान हादी ?
शरिफ उस्मान हादी गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका प्रमुख अगुवामध्ये एक थिए। उनी शेख हसिनाविरोधी इन्कलाब मञ्चका सक्रिय सदस्य थिए र आउँदो फेब्रुअरीमा हुने भनिएको निर्वाचनमा ढाका–८ क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा थिए।
विद्यार्थी आन्दोलनका क्रममा चर्चामा आएको इन्कलाब मञ्चमाथि कट्टरपन्थी समूहसँग सम्बन्ध रहेको र सत्तारूढ अवामी लिगलाई कमजोर पार्ने प्रयास गरेको आरोप लाग्दै आएको थियो। युनुस नेतृत्वको अन्तरिम सरकारले पछि उक्त संगठनलाई भंग गर्दै निर्वाचनमा सहभागी हुनसमेत रोक लगाएको थियो।

