५ मंसिर,काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदानस्थलको संख्या परिमार्जन गरिएको छ । निर्वाचन आयोगले मतदातालाई थप सहज हुने व्यवस्था मिलाउँदै १६८ नयाँ मतदानस्थल थप गरेको जनाएको छ भने प्रयोगमा नरहेका र अनुपयुक्त ९३ मतदानस्थल खारेज गरिएको छ ।
यससँगै अब देशभर कुल १० हजार ९६७ मतदानस्थल रहने छन् । यसअघि १० हजार ८९२ मतदानस्थल तोकिएका थिए । आयोगका अनुसार मतदातालाई नजिक र पायक पर्ने स्थानमा मतदान गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले मतदानस्थलको पुनरावलोकन गरिएको हो ।
पुनरावलोकनका क्रममा मतदानस्थलको नाम र ठेगानामा देखिएका त्रुटि सच्याइएको छ भने कतिपय स्थानमा मतदातालाई आंशिक वा पूर्ण रूपमा अर्को पायक पर्ने मतदानस्थलमा स्थानान्तरण गरिएको आयोगले जनाएको छ । एउटै वडाभित्र रहेका साविकका मतदानस्थलहरू समायोजन गर्दै मतदाताको आवागमन सहज बनाउने प्रयास गरिएको बताइएको छ ।
निर्वाचन आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकन प्रक्रिया अघि बढाएको थियो । सो क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा छुटेको वा सार्नुपर्ने अवस्था भए दाबी–विरोध गर्न आग्रह गरिएको थियो ।
आयोगका अनुसार एउटै वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने स्थलमा नाम सार्न चाहने मतदाताले निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ । यसले आगामी निर्वाचनमा मतदान सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

