कलैयाको अधुरो सडकमा मन्त्री घिसिङको हस्तक्षेप : १४ वर्षको प्रतीक्षालाई अन्त्यतिर लैजाने संकेत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

२६ मंसिर ,कलैया(बारा )— बाराको मटिअर्वा–मानवत सडकखण्डअन्तर्गत कलैयाको ३.५ किलोमिटर सडक १४ वर्षदेखि अधुरो रहँदा स्थानीयवासीको आक्रोश चुलिँदो छ। यहीबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ शुक्रबार कलैया पुगेर काम रोकिराख्ने ठेकेदारलाई अन्तिम चेतावनी दिएका छन्।

निरीक्षणका क्रममा मन्त्री घिसिङले स्पष्ट शब्दमा भने—
“काम गर्न नसक्ने ठेकेदारलाई सरकारले अब संरक्षण गर्दैन। तत्काल प्रगति देखाउनुहोस्, नत्र ठेक्का रद्द हुन्छ।”

१४ वर्षमा पटक–पटक ठेक्का, तर उस्तै अधुरो सडक

मटिअर्वा–मानवत सडक २०६८ सालमा भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले सुरु गरेको हो।
त्यसपछि विभिन्न चरणमा

आशीष/DS JV,

सप्तकोशी जलाधार/ओम साई एण्ड कम्पनी
ले ठेक्का लिए पनि प्रगति न्यून। अहिलेको कम्पनीले १८% मात्र काम गरेको छ।

२२ करोडभन्दा बढी लागतको परियोजनामा ४ करोड १५ लाख भुक्तानी भइसके पनि काम कागजमै, सडक अधुरै

१ अर्बको मुआब्जा सकियो, तर सडक सुरू हुन सकेन

जिल्ला प्रशासनका अनुसार १४ सयभन्दा बढी जग्गाधनीलाई १ अर्ब ४ करोड ९१ लाख ६२ हजार मुआब्जा वितरण भइसकेको छ।
स्रोत खर्च भए तर परिणाम नदेखिएको भन्दै स्थानीय सरकारदेखि नागरिक सबै आक्रोशित बनेका छन्।

८ वर्षदेखि धुलोमै कलैया, नगरपालिकाले खर्च गर्‍यो १ करोड

कलैया उपमहानगरले

पानी छर्कने,

ग्राभेल हाल्ने,

खाल्डाखुल्डी पुरिने
काम निरन्तर गर्दै आएको छ।

यसमा मात्रै ८ वर्षमा करिब १ करोड रुपैयाँ खर्च भइसकेको छ।
धुलो उडेकै कारण दैनिक ७ सय लिटर डिजेल ट्यांकरले खर्च गर्छ।

मन्त्रीलाई बुझाइयो ८ बुँदे मागपत्र : ‘अब राहत होइन, समाधान’

स्थानीय युवाहरू — सौरभ पाण्डेय, बिक्की साह, सागर साह, सुर्ज साह, सौरभ चौगाई, सुमित पटेल, अभिमन्यु गुप्ता, दिलिप कुशवाहा, रामानन्द, दीपेन्द्र — ले संयुक्त रूपमा ८ बुँदे मागपत्र बुझाए।

मुख्य मागहरू यसप्रकार छन् :

कलैयाको ३ किमि सडक तत्काल निर्माण।

मोतिसर–फेटा चौक ३ किमि सडक अविलम्ब बनाउने।

बसतपुर–कबहिगोठ सडक तत्काल पूरा गर्ने।

बडहर्वा–सिमरा सडक तत्काल निर्माण।

हरनहिया–टेढाकट्टी पुरानो एलाइनमेन्टलाई हाईवे बनाउने।

कोल्हवी–कलैया जोड्ने मुख्य सडक तत्काल निर्माण।

पथलैया–निजगढ सडकखण्डको दुधौरा नदीमा पुल छिटो बनाउने।

यातायात कार्यालयमा हुने भ्रष्टाचार रोक्ने कडा कदम।


स्थानीयको आवाज : “अब प्रतिवद्धता होइन, नतिजा देखिनुपर्छ”

मन्त्री घिसिङको निरीक्षण र चेतावनीपछि कलैयामा आशा त जगिएको छ, तर नागरिक भन्छन्—
“१४ वर्षको पीडा छ, अब सडक बन्यो कि बनेन भन्ने प्रश्नमा समयले नै जवाफ दिन्छ।”

Leave a Comment