बारा, ६ पुस।
प्रादेशिक अस्पताल कलैयामा देखिएको सेवा अव्यवस्था र लापरबाहीको विरोधमा ‘जेन जी एन्ड युथ अफ बारा’ आबद्ध युवाहरूले आइतबार अस्पताल प्रशासनसमक्ष ११ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन्।
अस्पतालमा चिकित्सकहरू ड्युटी समयमा निजी क्लिनिक धाउने, ओपिडी सेवा तोकिएको समयअघि नै बन्द हुने तथा सरकारले निःशुल्क उपलब्ध गराउने औषधि बिरामीले नपाउने समस्या वर्षौंदेखि रहँदै आएको युवाहरूको आरोप छ। उनीहरूले ओपिडी सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नियमित सञ्चालन हुनुपर्ने माग गरेका छन्।
्
ज्ञापनपत्रमा बिरामीको व्यवस्थापन सहज बनाउन ‘टोकन प्रणाली’ लागू गर्नुपर्ने, ज्येष्ठ नागरिक र अशक्तलाई प्राथमिकता दिनुपर्ने तथा अनावश्यक भिटामिन र महँगा औषधि लेख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ। साथै निजी अस्पतालमा बिरामी रेफर गर्ने नाममा हुने कमिसन खेल तत्काल बन्द गर्न उनीहरूको माग छ।

युवाहरूले अस्पताल परिसरभित्र एटिएम (ATM) तथा क्युआर (QR) पेमेन्ट प्रणालीको व्यवस्था, हालको संरचनालाई विस्तार गरी १०० शैयाको क्षमता विकास, र राजनीतिक पहुँचका आधारमा हुने नियुक्ति रोक्दै योग्य तथा दक्ष जनशक्ति भर्ना गर्न पनि जोड दिएका छन्।
नागरिकले सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न अस्पताल प्रशासनले तुरुन्त सुधारका कदम चाल्नुपर्ने भन्दै युवाहरूले चेतावनीसमेत दिएका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने संकेत उनीहरूले दिएका छन्।

