मङ्गलबार १९ फागुन, २०८२
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा पनि ठूलो संख्यामा उम्मेदवारले अनिवार्य बैंक खाता नखोलेको पाइएको छ।
का अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका ३४०६ जनामध्ये हालसम्म १९८६ जनाले मात्र निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालनमा ल्याएका छन्। अर्थात् झण्डै एक तिहाइ उम्मेदवार अझै कानुनी व्यवस्था पूरा गर्न बाँकी छन्।
निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र खाता खोलेका छन्। आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीस ले बैंक खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको जानकारी दिइन्।
निर्वाचन खर्च पारदर्शी बनाउन तथा कानुनले तोकेको खर्च सीमाको प्रभावकारी अनुगमन गर्न बैंक खाता अनिवार्य गरिएको आयोगले जनाएको छ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार निर्वाचनमा भाग लिने सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका लागि प्राप्त आर्थिक सहयोग तथा आम्दानी–खर्चको सम्पूर्ण कारोबार तोकिएको खातामार्फत गर्नुपर्ने व्यवस्था छ।
आयोगले बाँकी दल र उम्मेदवारलाई छिटो खाता खोली कानुनी प्रावधान पालना गर्न आग्रह गरेको छ।

