८ पुस,काठमाडौं । लामखुट्टेबाट सर्ने रोगमध्ये डेंगुलाई सबैभन्दा खतरनाक मानिँदै आएको नेपालमा अहिले जापानी इन्सेफलाइटिस (जेई) अझै घातक रूपमा देखा पर्न थालेको छ। पछिल्लो एक वर्षको तथ्यांकले जेई संक्रमण पुष्टि भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको देखाउँछ, जसले सार्वजनिक स्वास्थ्य क्षेत्रमा गम्भीर चिन्ता थपेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार पुस २०८१ यता हालसम्म १७९ जनामा जेई संक्रमण पुष्टि हुँदा ३५ जनाले ज्यान गुमाइसकेका छन्। मृत्युदर ३३ प्रतिशत पुगेपछि विज्ञहरूले यसलाई ‘खतराको संकेत’ मानेका छन्।
शाखा प्रमुख डा. अभियान गौतमका अनुसार सन् २०२३ मा ७ जनाको मृत्यु भएकोमा २०२४ मा मृतक संख्या बढेर २५ पुगेको छ।
उनले भने, “जापानी इन्सेफलाइटिसको बढ्दो मृत्युदरले अब यसलाई सामान्य रोग ठान्न मिल्दैन।”
राति टोक्ने लामखुट्टे, बढी जोखिम तराईमा
जेई फ्लेभी भाइरसबाट हुने रोग हो, जुन क्युलेक्स जातको लामखुट्टेले सार्छ। यो लामखुट्टे प्रायः बिहान र बेलुका सक्रिय हुन्छ। सुँगुर र चराचुरुङ्गीबाट भाइरस बोकेर मानिसमा संक्रमण फैलिन्छ।
हालसम्म लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५५ संक्रमित भेटिएका छन्, जहाँ ११ जनाको मृत्यु भइसकेको छ। जिल्लागत रूपमा चितवन जेई संक्रमणको केन्द्र बन्दै गएको छ।
नेपालमा जेईको इतिहास पुरानो भए पनि व्यवस्थित निगरानी भने पछिल्ला वर्षहरूमा मात्र सुरु भएको हो। सन् १९७० को दशकमा रुपन्देही आसपास यस रोगको लक्षण देखिएको अनुमान गरिए पनि प्रयोगशाला परीक्षणको अभावले पुष्टि हुन सकेको थिएन।
डेंगुभन्दा किन खतरनाक ?
डा. गौतमका अनुसार जेई डेंगुभन्दा धेरै घातक छ।
उनका शब्दमा,
“तथ्यांकले देखाउँछ– हरेक तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुन्छ, एक जना जीवनभर अपांगता बोकेर बाँच्छन् र एक जना मात्रै पूर्ण रूपमा निको हुन्छ।”
यस वर्ष देशभर ८ हजार २६२ जनामा डेंगु संक्रमण देखिँदा ६ जनाको मात्र मृत्यु भएको थियो, जसले जेईको घातकता अझ प्रष्ट पार्छ।
४० वर्षमाथिका व्यक्तिमा बढ्दो जोखिम
विश्व स्वास्थ्य संगठनका अनुसार जेई प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ। तर नेपालमा पछिल्ला वर्षहरूमा ४० वर्षमाथिका व्यक्तिमा संक्रमण र मृत्यु बढी भइरहेको छ।
संक्रमितमध्ये ९१ प्रतिशतले खोप नलगाएको पाइएको छ।
भाइरसको स्वरूपमा परिवर्तन भएको हुन सक्ने आशंका गरिएको भए पनि यसबारे अध्ययन जारी रहेको डा. गौतम बताउँछन्।
साथै स्क्रब टाइफसजस्ता अन्य रोगसँगको संयोजन संक्रमण (co-infection) का कारण मृत्युदर बढेको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
धानखेत र पशुपालन क्षेत्र उच्च जोखिममा
साउन–भदौमा जेई संक्रमण बढी देखिन्छ। धान खेती हुने क्षेत्र तथा सुँगुर र हाँस पालन गरिने ठाउँ उच्च जोखिममा पर्छन्। संक्रमितमध्ये करिब ५० प्रतिशत कृषिमा आबद्ध रहेको तथ्यांकले यसलाई पुष्टि गर्छ।
धानखेतमा जमेको पानी लामखुट्टेको प्रजननस्थल बन्छ भने सुँगुर र हाँसमा भाइरस तीव्र रूपमा बढ्ने भएकाले संक्रमण चक्र झन् तीव्र हुन्छ।
लक्षण, असर र उपचार
धेरै संक्रमितमा लक्षण नदेखिए पनि करिब २५० मध्ये एक जनामा गम्भीर स्नायु समस्या देखा पर्छ। बच्न सकेका करिब ५० प्रतिशतमा जीवनभर असर रहने चिकित्सकहरू बताउँछन्।
मुख्य लक्षणहरूमा—
उच्च ज्वरो
टाउको दुखाइ
घाँटी कडा हुनु
अचेत अवस्था
कम्पन र मांसपेशी कडा हुनु
समयमै उपचार नपाए मृत्यु हुन सक्छ।
जेई भाइरसजन्य रोग भएकाले विशेष औषधि छैन। उपचार लक्षण र जटिलतामा आधारित हुन्छ।
खोप नै सबैभन्दा प्रभावकारी सुरक्षा
जेई नियन्त्रणको मुख्य उपाय खोप हो। नेपालमा १२ महिनाको उमेरमा बालबालिकालाई जेई खोप दिइन्छ। सरकारले तीन दशकदेखि जोखिमयुक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्दै आएको छ।
लामखुट्टेबाट जोगिन झुल प्रयोग गर्ने, पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र पशुपंक्षीको खोर घरबाट टाढा राख्ने उपाय अपनाउन विज्ञहरूको सुझाव छ।

