एमाले महाधिवेशन लम्बियो, निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२८ मंसिर ,काठमाडौँ — नेकपा एमालेको ११औँ महाधिवेशन तोकिएको समयभन्दा लम्बिने भएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन सोमबार सक्ने तयारी भए पनि नेतृत्व चयनमा सहमति नजुटेपछि एक दिन थपेर निर्वाचन गरिने भएको हो।

भृकुटीमण्डपमा आजदेखि सुरु भएको बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना नदेखिएपछि केन्द्रीय निर्वाचन आयोगले संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार पर्सि पुस १ गते दिउँसो ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी कार्यतालिकाअनुसार भोलि बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ। बिहान मतदाता नामावली प्रकाशन गरिनेछ भने ८ बजेदेखि ९ बजेसम्म दावी–विरोध दर्ता गर्न सकिनेछ। साढे ९ बजे दावी–विरोधको सूचना प्रकाशन, १० बजे छानबिन र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी भोलि दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। मतदान भने पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

चुनावका लागि यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरिएको छ। बन्दसत्र सुरु हुनुअघि आज बिहान भृकुटीमण्डपमै एमाले केन्द्रीय कमिटीको बैठक बसेको थियो, जसले १०औँ महाधिवेशनबाट पारित व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ।

एमालेले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्दै केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई करिब ५ प्रतिशत प्रतिनिधित्व दिने व्यवस्था गरेको छ। ३०१ सदस्यीय केन्द्रीय कमिटीमा युवाको संख्या १५ जना रहनेछ, जुन ४.९८ प्रतिशत हो। यद्यपि, सचिवालय बैठकमा सचिव योगेश भट्टराईले युवाका लागि १५ प्रतिशत कोटा हुनुपर्ने प्रस्ताव गरेका थिए।

Leave a Comment