क्यालिफोर्नियामा प्रकृतिको प्रहार : आँधीपछि भारी वर्षा र हिमपात, सयौं घर खाली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९ पुस,लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यमा मंगलबार आएको शक्तिशाली आँधीपछि लगातार भारी वर्षा र हिमपात हुँदा सयौं मानिस विस्थापित भएका छन् । क्रिसमसको समयमै मौसमले उग्र रूप लिँदा राज्यका धेरै क्षेत्रमा बाढी, पहिरो र यातायात अवरुद्ध हुने खतरा बढेको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय मौसम सेवाका अनुसार यो आँधीले शुक्रबारसम्म क्यालिफोर्नियाका उत्तरी, मध्य तथा दक्षिणी भागमा अत्यधिक वर्षा र हिमपात गराउने अनुमान गरिएको छ । उच्च भूभागमा हिउँको बाक्लो तह जम्ने र तल्लो क्षेत्रमा आकस्मिक बाढी तथा माटो–ढुंगाको बहाव (मडस्लाइड) को जोखिम बढ्ने चेतावनी दिइएको छ ।

क्रिसमसको छुट्टीमा बाहिर निस्कने योजनाप्रति पुनर्विचार गर्न मौसमविद्हरूले आग्रह गरेका छन् । राष्ट्रिय मौसम सेवाकी मौसमविद् एरियल कोहेनले प्रतिकूल मौसमका कारण सुरक्षित स्थानमै बसेर पर्व मनाउन अनुरोध गर्दै अनावश्यक यात्रा नगर्न सुझाव दिएकी छन् ।

बुधबारदेखि शुक्रबारसम्म विशेष गरी पहाडी सडक, खोँच र जङ्गल नजिकका क्षेत्रमा चट्टान, माटो र भग्नावशेषसहितको बाढीको सम्भावना उच्च रहेको जनाइएको छ । दक्षिणी क्यालिफोर्नियाका केही क्षेत्रमा ३०.५ सेन्टिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

एलए काउन्टीका अधिकारीहरूका अनुसार जनवरीमा भएको डढेलोबाट प्रभावित क्षेत्रहरू अझै कमजोर अवस्थामा रहेकाले त्यहाँ माटो र भग्नावशेष बग्ने जोखिम अत्यधिक छ । यही कारण मंगलबार मात्रै २०० भन्दा बढी घर खाली गर्न आदेश दिइएको छ ।

लस एन्जलस काउन्टीसहित राज्यका अन्य भागमा बाढी निगरानी तीव्र पारिएको छ । पूर्वी क्यालिफोर्नियाको सिएरा नेभाडा पर्वत शृङ्खलामा यस हप्ता एक फिटभन्दा बढी हिउँ परिसकेको छ भने आँधी सुरु हुनु अघि नै पाँच फिटसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको थियो ।

यस आँधीसँगै राज्यभर ८८ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावा चल्ने सम्भावना रहेको छ । कमजोर माटो र तीव्र हावाको संयोजनले रूख ढल्ने र विद्युत् लाइनहरू क्षतिग्रस्त हुने खतरा रहेको भन्दै मौसम अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Leave a Comment