खामेनीको ट्रम्पमाथि तीव्र आक्रमण, ट्रम्पको इरानलाई चेतावनी : दमन भए कडा कारबाही

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२६ पुस २०८२, शनिबार-काठमाडौं । इरान–अमेरिका तनाव पुनः चर्किएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तानाशाह र घमण्डी शासकको संज्ञा दिँदै उनको पनि अन्य तानाशाहजस्तै पतन हुने दाबी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् लगातार प्रतिक्रिया दिँदै खामेनीले ट्रम्पले विश्व मामिलामा घमण्डका साथ गलत निर्णय गरिरहेको आरोप लगाए । उनले फिरौन, निमरूद र मोहम्मद रजा पहलवीजस्ता शासकहरूको उदाहरण दिँदै अहंकार चरम सीमामा पुगेपछि उनीहरूको पतन भएको उल्लेख गरे । ‘ट्रम्पको पनि त्यस्तै पतन हुनेछ,’ खामेनीले लेखेका छन् ।

खामेनीले अमेरिका अझै पनि इरानलाई नबुझेको आरोप लगाउँदै इरान लाखौँ नागरिकको बलिदानबाट बनेको राष्ट्र भएकाले कुनै पनि विनाशकारी शक्तिसामु नझुक्ने स्पष्ट पारे । साथै हालै इरानमा भएका प्रदर्शनका क्रममा नागरिक मारिनुमा ट्रम्पको भूमिका रहेको आरोपसमेत लगाए ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । पछिल्ला केही हप्तामा विभिन्न सहरमा प्रदर्शनकारीहरूले नियन्त्रण जमाएको उल्लेख गर्दै उनले अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताए ।

ट्रम्पले यदि इरानी सरकारले पुनः प्रदर्शनकारीमाथि दमन बढाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यदि उनीहरूले फेरि मानिसहरू मार्न थाले भने हामी त्यहीँ प्रहार गर्नेछौं, जहाँ उनीहरूलाई सबैभन्दा बढी पीडा हुन्छ,’ ट्रम्पले भने । यद्यपि उनले उक्त कारबाही सैन्य हस्तक्षेप नहुने स्पष्ट गरे ।

इरानमा पछिल्ला १३ दिनदेखि सरकारविरोधी प्रदर्शन जारी छ । मानवअधिकार समूहहरूका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको ज्यान गएको छ ।

Leave a Comment