कलैया, पुस १०
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको स्मरणमा आज नेपालभर ‘क्रिसमस डे’ मनाइँदैछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
ईसाई धर्मावलम्बीको विश्वासअनुसार आजभन्दा करिब २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको विश्वास गरिन्छ।
नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार क्रिसमस डे ईसाई समुदायका लागि प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाइन्छ। “मानवलाई प्रेम गर्न, शान्ति स्थापना गर्न र मुक्ति दिन येशु ख्रीष्ट आउनुभएको विश्वास छ,” उनले बताए।
नेपालमा विसं २०६३ सालपछि महासङ्घले क्रिसमसलाई औपचारिक महोत्सवका रूपमा मनाउन थालेको हो। यसै अवसरमा महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव–२०८२’ आयोजना हुँदैछ। कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
क्रिसमसको अवसरमा नेपालमा सार्वजनिक बिदाको व्यवस्था समयक्रममा परिवर्तन हुँदै आएको छ। विसं २०६३ देखि २०७४ सम्म सबैका लागि सार्वजनिक बिदा दिइएको थियो भने २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो। विसं २०७८ यता पुनः सबै नागरिकका लागि सार्वजनिक बिदा दिन थालिएको छ।
पछिल्ला वर्षहरूमा क्रिसमसको रौनक सहरहरूमा झनै बढ्दै गएको देखिन्छ। काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत पर्यटकीय क्षेत्रमा क्रिसमस ‘ट्री’, झिलिमिली बत्ती र सांगीतिक कार्यक्रमले विशेष चहलपहल देखिन्छ।
महासङ्घको तथ्यांकअनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।

