फागुन २१ को चुनावमा तीन ठूला दल सहमत, सरकार भन्छ– लोकतान्त्रिक निकास यही हो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ११ पुस — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुने र सबै प्रमुख राजनीतिक दल त्यसमा सहभागी हुने स्पष्ट पारेका छन्। तीन ठूला दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्तापछि मन्त्री खरेलले निर्वाचनबारे राजनीतिक सहमति बलियो बनेको दाबी गरे।

शुक्रबार बिहान मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूकै निवासमा भेटवार्ता गरेका थिए। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तीनै नेताबाट निर्वाचनको विरोध नभएको स्पष्ट सन्देश पाएको बताए।

“तीनै शीर्ष नेताले एउटै कुरा भन्नुभयो— चुनाव लोकतन्त्रको आत्मा हो, त्यसको विकल्प छैन,” मन्त्री खरेलले भने, “फ्रेस म्यान्डेट लिएर अगाडि बढ्नु नै मुलुकका लागि उपयुक्त बाटो हो भन्नेमा सबै सहमत हुनुहुन्छ।”

कांग्रेस सभापति देउवासँगको छलफलमा संसद् पुनर्स्थापनाभन्दा निर्वाचनलाई प्राथमिकतामा राखिएको खरेलको भनाइ छ। “देउवाजीले कांग्रेसको मुख्य एजेन्डा चुनाव नै भएको स्पष्ट गर्नुभयो,” उनले बताए।

त्यस्तै, नेकपा संयोजक प्रचण्डले पनि निर्वाचनको कुनै विकल्प नरहेको धारणा राख्दै तोकिएको मितिमै चुनाव हुनुपर्नेमा जोड दिएको खरेलले जानकारी दिए। “जसरी पनि चुनावमा जानुपर्छ भन्ने स्पष्ट धारणा प्रचण्डजीको थियो,” उनले भने।

एमाले अध्यक्ष ओलीले भने चुनावी सुरक्षाको विषयलाई प्राथमिक चासोको रूपमा उठाएको मन्त्री खरेलले बताए। ओलीले निर्वाचनमार्फत नै नयाँ जनादेश लिएर अघि बढ्नुपर्नेमा कुनै दुविधा नरहेको बताए पनि सुरक्षित र निष्पक्ष वातावरण सुनिश्चित गर्न सरकारको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए।

सरकार चुनाव गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै मन्त्री खरेलले निर्वाचनको वातावरण बनाउन निरन्तर संवाद र छलफल जारी रहेको बताए। “राज्यका सबै निकाय निर्वाचन तयारीमा जुटिसकेका छन्,” उनले भने, “कुनै पनि हालतमा फागुन २१ मा चुनाव हुन्छ।”

तीनै प्रमुख दलका नेतासँगको छलफलपछि निर्वाचनको मार्ग थप स्पष्ट भएको सरकारको निष्कर्ष छ। सबै दललाई सहभागी गराउँदै लोकतान्त्रिक निकास खोज्ने दिशामा सरकार अघि बढिरहेको खरेलले बताए।

Leave a Comment