बारामा शिक्षक संघद्वारा सरकारको ध्यानाकर्षण

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

४ भाद्र,कलैया : नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बाराले सार्वजनिक विद्यालयका शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। संघले विभिन्न ज्ञापनपत्र र प्रेस विज्ञप्ति मार्फत माग प्रस्तुत गर्दै शिक्षकमाथि राज्य र सरकारले गरिरहेको उपेक्षा र अन्यायपूर्ण व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।

संघले शिक्षण सेवामा रहेका करार, अस्थायी, राहत तथा अन्य सबै तहका शिक्षकलाई स्थायीकरण प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। साथै, शिक्षक सेवाबाट अवकाश पाएका शिक्षकलाई पनि अन्य कर्मचारी सरह सामाजिक सुरक्षा सुविधा दिनुपर्ने माग गरेको छ।

नेपाल सरकार र शिक्षक संगठनबीच भएका सहमतिहरू कार्यान्वयन नगरी झुठा आश्वासन मात्रै दिइएको भन्दै संघले तत्काल सहमतिहरू पालना गर्न आग्रह गरेको छ। सरकारले पटक–पटक शिक्षक अधिकारका सवाललाई बेवास्ता गरेको भन्दै संघले शिक्षण पेसालाई सम्मानित बनाउन र शिक्षकको मनोबल उच्च राख्न आवश्यक कदम चाल्न माग गरेको छ।

प्रेस विज्ञप्तिमा लामो समयदेखि शिक्षक आन्दोलन चलाइरहे पनि सरकारले गम्भीरता नदिएको उल्लेख गर्दै यदि मागहरू पूरा नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी दिइएको छ।

संघले विद्यार्थी, अभिभावक, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, जनप्रतिनिधि तथा आम नागरिकलाई पनि शिक्षकमाथि भइरहेको अन्यायविरुद्ध आवाज उठाउन आह्वान गरेको छ।।

Leave a Comment