१२ पुस, बारा ।
कलैया उपमहानगरपालिकाले बढ्दो चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिने हिउँदे बिदा घोषणा गरेको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजिव कुमार यादवद्वारा जारी विज्ञप्ति अनुसार अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले वार्षिक बर्खे बिदाबाट कट्टा हुने गरी २०८२ पौष १३ गते आइतबारदेखि १५ गते मंगलबारसम्म विद्यालयहरू बन्द रहनेछन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार बिदा सकिएपछि पौष १६ गते बुधबारदेखि सबै विद्यालयहरू तोकिएको समयअनुसार नियमित रूपमा सञ्चालन हुनेछन्।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश भू–भागमा पछिल्ला केही दिनदेखि बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य अवस्था तथा सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी प्रणाली कमजोर भए पनि चिसो हावा र उच्च आर्द्रताका कारण तराई क्षेत्रमा हुस्सु जम्ने क्रम जारी छ। यही अवस्थालाई ध्यानमा राख्दै बाराका अधिकांश विद्यालयहरूमा पठनपाठन प्रभावित बनेको छ।
महाशाखाले विशेषगरी बिहानको समयमा सवारी साधन चलाउँदा सावधानी अपनाउन तथा आवश्यक परे यात्रा तालिका परिमार्जन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।






