बारामा प्रहरीद्वारा साढे दुई लाख मुल्य बराबरको चिनी बरामद

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 200
पढ्न लाग्ने समय : 1 मिनेट

८ असोज, बारा: बारामा प्रहरीले आज एउटा घरमा छापामारी गरेर करिब साढे दुईलाख मुल्य बराबरको चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको टोलीले आज कलैया उपमहानगरपालिका-२५ सिसहनिया स्थित एक घरमा छापा मारेर दुई लाख ५९ हजार मुल्य बराबरको ६१ बोरा चिनी र एउटा बोरा सिलाउने मेशीन बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

कलैया उपमहानगरपालिका-२५ सिसहनिया स्थित तजमोदिन अंसारीको घरमा छापामारी गरेर चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रुपमा ल्याएर लुकाई राखिएको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार बरामद गरिएको सो चिनी प्रभकर नाम गरेको तस्करको थियो ।

तस्करले भारतबाट चिनी ल्याएर सिसहनियामा थुपारेर बिल काटेर काठमाडौ पठाउने गरेका थिए ।

प्रहरीले विशेष सुचनाको आधारमा छापामारी गरेको हो ।