काठमाडौं, पुस १३, २०८२ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षको भागमा ४० जना पर्ने सहमति भएको छ। पार्टी सभापति रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान भएको छलफलपछि उक्त समझदारी बनेको हो।
निर्वाचन आयोगमा आज र भोलि प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यतालिका रहेको छ। आयोगको नियमअनुसार दलहरूले समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनुपर्ने हुन्छ।
यसै सन्दर्भमा रास्वपाले ११० जनामध्ये ४० जनाको नाम बालेन शाह पक्षबाट र बाँकी ७० जनाको नाम पार्टीको आन्तरिक प्रक्रियाबाट छनोट गर्ने सहमति भएको स्रोतले जनाएको छ।
रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान भएको सातबुँदे सम्झौतापत्रमा समानुपातिक उम्मेदवारको संख्या उल्लेख नभए पनि यसबारे मौखिक समझदारी भएको स्रोतको दाबी छ।
‘समानुपातिकतर्फ बालेनजीलाई ४० जनाको नाम ल्याउन भनिएको छ,’ स्रोतले भन्यो, ‘रास्वपाको तर्फबाट ७० जना रहनेछन्।’ बालेन पक्षको सूचीमा विभिन्न जेन–जी समूहका अगुवाहरू पनि समावेश हुने बताइएको छ।
यता, रास्वपाले समानुपातिक सांसद उम्मेदवार छनोटका लागि पार्टीभित्र आन्तरिक भोटिङ प्रक्रिया अघि बढाएको छ। सो प्रक्रियामा लोकप्रिय मत प्राप्त गर्ने उम्मेदवारलाई प्राथमिकता दिइने पार्टीले जनाएको छ।






