१३ पुस, काठमाडौं।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनप्रति आशंका व्यक्त गर्दै आएको नेकपा (एमाले) अन्ततः चुनावी तयारीमा औपचारिक रूपमा होमिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूची पारित गर्दै प्रत्यक्षतर्फका उम्मेदवार पुस २० गतेभित्र सिफारिस गर्न निर्देशन दिएको छ।
बैठकपछि पार्टी सचिव राजन भट्टराईले निर्वाचन क्षेत्रीय कमिटीमार्फत प्रत्यक्षतर्फका आकांक्षीको नाम तोकिएको समयसीमाभित्र सिफारिस गर्न निर्देशन दिइएको जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाइने नामसमेत अन्तिम चरणमा पुगेको छ।
उपमहासचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक बन्दसूचीमा राखिने नामहरू प्रस्तुत गरी पारित गराएको बताए। “आवश्यक परे अध्यक्षले केही संशोधनसहित आयोगमा दर्ता गराउने व्यवस्था गरिएको छ,” उनले भने।
‘हामी चुनावका लागि तयार छौँ’
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव महेश बस्नेतले अरु दल चुनावी तयारीमा अलमलिएको भए पनि एमालेले संगठनात्मक रूपमा आफूलाई व्यवस्थित गरिसकेको दाबी गरे।
“चुनाव हुँदैन भनिँदै गर्दा पनि हामी संगठन र जनताबीचको सम्बन्ध सुदृढ बनाइरहेका थियौँ,” उनले भने, “लोकतान्त्रिक दल भएकाले चुनावको सामना गर्न हामी सधैँ तयार छौँ।”
समानुपातिक सूचीमा असन्तुष्टि
बैठक स्रोतका अनुसार अध्यक्ष ओलीले समानुपातिकतर्फ ११० जनाको नाम समेटिएको सूची प्रस्तुत गरेका थिए, जसमा खस–आर्य समूहको पहिलो नम्बरमा गुरु बरालको नाम राखिएको छ। यही प्रस्तावलाई लिएर पार्टीभित्र संशोधनको माग उठेको छ।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट, रघुवीर महासेठ तथा सचिव यामलाल कँडेलले आ–आफ्नो सुझाव पेस गर्दै सूची मापदण्डका आधारमा तयार हुनुपर्ने धारणा राखेका छन्।
विशेषगरी उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईले समानुपातिक सूचीले पार्टीभित्र एकताको सन्देश दिनुपर्नेमा जोड दिएका थिए।
“मापदण्डबिनाको सूचीले असन्तुष्टि जन्माउँछ,” भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
एकताको सन्देश दिन ईश्वर पोखरेलको नाम अघि सार्ने सुझाव
बैठकमा गुरु बरालको सट्टा ईश्वर पोखरेललाई खुलातर्फ एक नम्बरमा राख्दा पार्टीभित्र सकारात्मक सन्देश जाने तर्क पनि प्रस्तुत भएको थियो। महाधिवेशनपछि फरक समूहबाट आएका नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने मत बलियो देखिएको स्रोतको भनाइ छ।
त्यसैगरी बिन्दा पाण्डे, रचना खड्का, सर्मिला कार्की, उषाकिरण तिम्सेना, शम्भु थापा, टीकाराम भट्टराई, गौरी प्रधान र सुशील प्याकुरेलजस्ता नामहरू बन्दसूचीमा समेट्न सुझाव दिइएको छ।
अन्तिम निर्णय अझै खुला
स्रोतका अनुसार सचिवालयमा प्रस्तुत सूची अन्तिम नभई थप छलफल र संशोधनपछि मात्र निर्वाचन आयोगमा बुझाइनेछ। पार्टीभित्र एकता, समावेशिता र सन्तुलन कायम गर्ने गरी निर्णय लिन दबाब बढ्दो छ।
एमालेले यससँगै प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो तयारीलाई तीव्र बनाएको स्पष्ट संकेत दिएको छ।

