उज्यालो पार्टीका अध्यक्ष उपाध्याय रास्वपाको समानुपातिक सूचीमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, पुस १५ — कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार बनेका छन्।

सोमबार उज्यालो पार्टीले रास्वपासँग औपचारिक एकताको घोषणा गरेसँगै अध्यक्ष उपाध्यायलाई रास्वपाको समानुपातिक सूचीमा समावेश गरिएको हो। उनी खस–आर्य पुरुष समूहबाट उम्मेदवारका रूपमा सूचीबद्ध छन्।

एकतापछि रास्वपाले उज्यालो पार्टीसहित विभिन्न पक्षका नेताहरूलाई समेट्दै ११० जनाको समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। उक्त सूचीमा उज्यालो पार्टीबाट १८ जना उम्मेदवार परेका छन्।

सूचीमा उज्यालो पार्टीका तर्फबाट डा. महेन्द्र लावती, धर्मलाल तामाङ, माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा, त्रीशाला गुरुङ, देवकी पौडेल, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने, रिमा विश्वकर्मा, राजदेव राम, अभिषेकराज सिंह र मनिषा कुमारीलगायत नेताहरू समावेश छन्।

रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो पार्टीका संयोजक कुलमान घिसिङबीच भएको सहमतिपछि दुवै दलबीचको सहकार्य औपचारिक रूपमा अघि बढेको हो। यस एकतालाई आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्ति निर्माणको प्रयासका रूपमा हेरिएको छ।

Leave a Comment