खालिदा जिया : भारतमा जन्मेकी, बंगलादेशको राजनीतिमा इतिहास रच्ने पहिलो महिला प्रधानमन्त्री

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, पुस १५ — बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। मंगलबार बिहान बंगलादेशको राजधानी ढाकामा उपचारका क्रममा उनको मृत्यु भएको परिवार र पार्टी स्रोतले पुष्टि गरेका छन्।

लामो समयदेखि विभिन्न दीर्घरोगबाट पीडित खालिदा पछिल्ला २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन्। छातीको संक्रमण, कलेजो तथा मिर्गौला समस्या, मधुमेह, बाथ र आँखासम्बन्धी रोगले उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। स्थानीय समयअनुसार बिहान करिब ६ बजे उनको निधन भएको हो।

भारतमा जन्म, बंगलादेशमा राजनीतिक यात्रा

खालिदा जियाको जन्म सन् १९४५ मा तत्कालीन अविभाजित भारतको जलपाइगुडीमा भएको थियो। भारत–पाकिस्तान विभाजनपछि पूर्वी बंगाल पाकिस्तानको हिस्सा बन्यो र सन् १९७१ मा स्वतन्त्र बंगलादेशको उदय भयो। यही परिवर्तनसँगै खालिदा परिवारसहित दिनाजपुर सरेकी थिइन्।

उनले दिनाजपुर मिसनरी स्कुलमा प्रारम्भिक शिक्षा लिइन् भने सन् १९६० मा दिनाजपुर गर्ल्स स्कुलबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरेकी थिइन्। सोही वर्ष उनले तत्कालीन सैनिक अधिकृत जियाउर रहमानसँग विवाह गरेकी थिइन्।

सैनिकबाट राष्ट्रपति, राष्ट्रपति बाट राजनीतिक दल स्थापना

जियाउर रहमान सन् १९७१ को मुक्ति युद्धका बेला पाकिस्तानी सेनाविरुद्ध विद्रोह गरी स्वतन्त्रता आन्दोलनका प्रमुख पात्र बने। सन् १९७५ मा शेख मुजिबुर रहमानको हत्या पछि बंगलादेश अस्थिरतामा फस्यो। लगातारको सैन्य हस्तक्षेपबीच रहमान शक्तिशाली नेताका रूपमा उदाए र सन् १९७७ मा राष्ट्रपति बने।

राष्ट्रपति बनेको एक वर्षपछि उनले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) स्थापना गरे, जसले पछि देशको प्रमुख राजनीतिक शक्ति रूपमा स्थान बनायो।

पतिको हत्यापछि राजनीतिमा प्रवेश

सन् १९८१ मे ३० मा चटगाउँमा भएको सैनिक विद्रोहका क्रममा जियाउर रहमानको हत्या भयो। त्यसपछि बीएनपी नेतृत्वविहीन अवस्थामा पुग्न थालेपछि पार्टी नेताहरूले खालिदा जियालाई नेतृत्व सम्हाल्न आग्रह गरे। सुरुवातमा अनिच्छुक रहेकी खालिदाले अन्ततः सन् १९८४ मा पार्टीको जिम्मेवारी लिइन्।

उनकै नेतृत्वमा बीएनपीले सैन्य तानाशाहीविरुद्ध आन्दोलन चर्कायो। त्यसको परिणामस्वरूप सन् १९९१ मा बंगलादेशमा बहुदलीय लोकतान्त्रिक निर्वाचन भयो, जहाँ बीएनपी विजयी भयो र खालिदा जिया देशकी पहिलो महिला प्रधानमन्त्री बनिन्।

दुई कार्यकालको प्रधानमन्त्री

खालिदा जियाले सन् १९९१–१९९६ र २००१–२००६ गरी दुई कार्यकाल बंगलादेशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिन्। उनको कार्यकाल बंगलादेशको लोकतान्त्रिक अभ्यास, सत्ता–प्रतिस्पर्धा र राजनीतिक ध्रुवीकरणका दृष्टिले महत्वपूर्ण मानिन्छ।

परिवार

खालिदा जियाका जेठा छोरा तारिक रहमान, दुई बुहारी र तीन नातिनातिना छन्। उनका कान्छा छोरा अराफत रहमान कोकोको भने सन् २०१५ मा मलेसियामा निधन भएको थियो।

Leave a Comment