१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन् । भेनेजुएलाको राजधानी काराकासमा भएका विस्फोट र सैन्य आक्रमणपछि ट्रम्पले उक्त कारबाही अमेरिकाले नै गरेको सार्वजनिक रूपमा स्वीकार गरेका हुन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत लेख्दै अमेरिकाले भेनेजुएला र राष्ट्रपति मादुरोविरुद्ध ठूलो स्तरको सैन्य कारबाही सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेका छन् । उनका अनुसार राष्ट्रपति मादुरोलाई उनकी पत्नीको साथमा पक्राउ गरी देशबाहिर लगिएको छ ।
‘अमेरिकाले भेनेजुएलाका सैन्य संरचना र नेतृत्वविरुद्ध निर्णायक कारबाही गरेको छ । राष्ट्रपति निकोलस मादुरोलाई उनकी पत्नी सहित नियन्त्रणमा लिइएको छ,’ ट्रम्पले लेखेका छन् ।
यसअघि शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकाससहित चार सहरमा शक्तिशाली विस्फोट र हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यका सैन्य अड्डाहरूलाई लक्षित गरी सातवटा हवाई आक्रमण गरिएको बताइएको छ ।
स्थानीय समयअनुसार पहिलो आक्रमण बिहान करिब २ बजे भएको थियो । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार राष्ट्रपति ट्रम्पकै आदेशमा भेनेजुएलाभित्र रहेका सैन्य पूर्वाधार र प्रमुख रणनीतिक स्थानमा आक्रमण गरिएको हो ।
आक्रमणका क्रममा राजधानी काराकास र आसपासका क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र आकाशमा एकैपटक दर्जन हाराहारीमा हेलिकप्टर उडिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
उता, काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशभर राष्ट्रिय संकटकाल घोषणा गरेको जनाइएको छ । उनले जारी गरेको वक्तव्यमा अमेरिकी सैन्य हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दै सार्वभौमिकतामाथि हमला भएको प्रतिक्रिया दिएका छन् ।
यद्यपि, राष्ट्रपति मादुरो पक्राउ परेको ट्रम्पको दाबीबारे भेनेजुएला सरकारको तर्फबाट औपचारिक पुष्टि भइसकेको छैन । घटनाको वास्तविक अवस्था र मानवीय क्षतिबारे थप विवरण आउन बाँकी छ ।

