कलैया, २०८३ फागुन २५ गते। बारा जिल्लामा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार कुल ११० जना उम्मेदवारमध्ये ९९ जनाले आफ्नो जमानत जोगाउन सकेनन्।
निर्वाचन कानुनअनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। यही प्रावधानका कारण धेरै उम्मेदवारहरूले जमानत गुमाएका हुन्। जमानत गुमाउनेहरूमा स्वतन्त्र उम्मेदवार मात्र नभई नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र आम जनता पार्टीजस्ता स्थापित दलका उम्मेदवारहरू समेत रहेका छन्।
विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारतर्फ मतदाताको आकर्षण बढेपछि पुराना तथा मधेसकेन्द्रित दलहरूको चुनावी आधार खुम्चिएको देखिएको छ।
बारा क्षेत्र नम्बर–१
यस क्षेत्रमा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफत भएको छ। जमानत जफत हुनेहरूमा नेपाल कम्युनिष्ट पार्टीका सन्तोष दंगाल, जनता समाजवादी पार्टी नेपालका रामबाबु प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद साह (कलाकार), उज्यालो पार्टी नेपालका अनवर अन्सारी, जनमत पार्टीका मकरुल्लाह अन्सारी, श्रम संस्कृति पार्टीका भुलावन कुमार पासवान र आम जनता पार्टीका विजय यादवसहित अन्य ९ जना रहेका छन्।
बारा क्षेत्र नम्बर–२
यस क्षेत्रमा २९ उम्मेदवारमध्ये २६ जनाले आफ्नो धरौटी जोगाउन सकेनन्। जमानत जफत हुनेहरूमा नेकपा एमालेका बलवीर प्रसाद चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार तथा पूर्व संविधानसभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहा, नेपाल कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादव, जनमत पार्टीका राजेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु प्रसाद साह तेली, उज्यालो पार्टी नेपालका मेघराज पासवान, जन अधिकार पार्टीका अमरेश कुमार पाण्डे र स्वतन्त्र उम्मेदवार इन्जाद अन्सारीसहित १८ जना रहेका छन्।
बारा क्षेत्र नम्बर–३
यस क्षेत्रमा २४ उम्मेदवारमध्ये २२ जनाले धरौटी जोगाउन सकेनन्। जमानत जफत हुनेहरूमा नेकपा एमालेकी उम्मेदवार तथा पूर्व मन्त्री ज्वाला कुमारी साह, जनमत पार्टीका उम्मेदवार तथा पूर्व संविधानसभा सदस्य प्रमोद गुप्ता, जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार तथा पूर्व सांसद रामबाबु कुमार यादव, नेपाल कम्युनिष्ट पार्टीका भरत प्रसाद साह, उज्यालो पार्टी नेपालका तिर्थबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउतसहित १६ जना रहेका छन्।
बारा क्षेत्र नम्बर–४
यस क्षेत्रमा ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ। जमानत जफत हुनेहरूमा नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका अजय कुशवाहा, राष्ट्र निर्माण दल नेपालका उम्मेदवार तथा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित ३० जना रहेका छन्।
यस निर्वाचनमा बारा जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
बारा–१ मा गणेश धिमालले ३९ हजार ९९८ मत प्राप्त गरेका छन्।
बारा–२ मा चन्दन कुमार सिंह ३५ हजार ५९० मतसहित निर्वाचित भएका छन्।
बारा–३ मा अरविन्द साहले ४० हजार ६९७ मत प्राप्त गरेका छन् भने
बारा–४ मा रहवर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्।

