जेनजी आन्दोलन छानबिन : आयोगलाई ओलीको लिखित बयान सार्वजनिक, यी हुन् ६ मुख्य दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२२ पुस २०८२, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगलाई नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुझाएको लिखित बयानका मुख्य बुँदा सार्वजनिक भएका छन्।

एमाले सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीको बयानबाट निकालिएका ६ बुँदा सार्वजनिक गर्दै आन्दोलन सुरुदेखि नै शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि बाह्य घुसपैठका कारण स्थिति नियन्त्रणबाहिर गएको दाबी गरेका छन्।

ओलीले २२ भदौको साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको उल्लेख गरेका छन्। तर आन्दोलनमा अराजक समूह घुसपैठ गरेको कुरा स्वयं आन्दोलनमा संलग्न युवाहरूले स्वीकार गरिसकेको पनि उनको दाबी छ।

उनको बयानमा आन्दोलनमा सहभागी अधिकांश व्यक्ति ‘जेनजी’ नभएको कुरा तत्कालीन फोटो तथा भिडियोबाट पुष्टि हुने उल्लेख गरिएको छ। साथै २३ भदौमा तोडफोड र अचानक गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको उनले बताएका छन्।

२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन आवश्यक ठानिए पनि विभिन्न कारणले सम्भव हुन नसकेको कुरा पनि बयानमा समेटिएको छ। त्यस्तै, आयोग संयोजक गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेको कारण निष्पक्ष प्रतिवेदन आउने विषयमा आशंका व्यक्त गरिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। ती घटनाको छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

आयोगको टोलीले गत आइतबार भक्तपुरस्थित गुण्डुमा रहेको निवासमै पुगेर तत्कालीन प्रधानमन्त्री ओलीसँग लिखित बयान संकलन गरेको थियो।

Leave a Comment