काठमाडौँ, पुस २२, २०८२
सरकारभित्र मन्त्रीहरूको बढ्दो राजनीतिक सक्रियताप्रति प्रधानमन्त्री सुशीला कार्कीले कडा असन्तुष्टि जनाउँदै स्पष्ट निर्देशन दिएकी छन्। राजनीतिमा लाग्ने तयारीमा रहेका वा दलगत गतिविधिमा संलग्न मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने प्रधानमन्त्रीको चेतावनीपछि मन्त्रिपरिषद्भित्र तरंग पैदा भएको छ।
प्रधानमन्त्री कार्कीले पछिल्लो समय केही मन्त्रीहरू राजनीतिक दलसँग नजिकिँदै गएको, पार्टी गतिविधिमा सहभागी भएको र आगामी चुनाव लक्षित तयारीमा लागेको समाचार सार्वजनिक भइरहेका बेला सोमबारको मन्त्रिपरिषद् बैठकमै यो विषय उठाएकी हुन्। देश संवेदनशील परिस्थितिमा रहेको उल्लेख गर्दै उनले जिम्मेवार पदमा बसेर राजनीतिक खेलमा लाग्नु अनुचित हुने धारणा राखेकी एक मन्त्रीले थाहाखबरलाई बताए।
यस निर्देशनसँगै उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ता राजनीतिमा प्रवेशको तयारीमा रहेको चर्चा तीव्र बनेको छ। विशेषगरी उर्जामन्त्री घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नजिकिएको र खुला सहमति भएको चर्चा व्यापक छ।
प्रधानमन्त्रीको निर्देशनबारे प्रतिक्रिया दिँदै उर्जामन्त्री कुलमान घिसिङले भने आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नभएको स्पष्ट पारेका छन्। मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले आवश्यक समय आएपछि मात्र राजीनामा दिने बताएका छन्।
“अहिलेसम्म म कुनै दलको सदस्य छैनँ। जब औपचारिक रूपमा राजनीतिमा लाग्ने निर्णय हुन्छ, त्यतिबेलै पदबाट राजीनामा दिन्छु,” घिसिङको भनाइ थियो।
प्रधानमन्त्रीको निर्देशन र मन्त्री घिसिङको जवाफले सरकारभित्र ‘राजनीति र प्रशासन’ को सीमारेखाबारे बहस चर्किएको छ। अब प्रधानमन्त्रीको चेतावनीपछि अन्य मन्त्रीहरूले के कदम चाल्छन् भन्ने चासो बढेको छ।

