काठमाडौं, पुस २४
सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागको भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले भर्ना खुलाइएको जनाइएको छ।
सूचना अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ। सार्वजनिक बिदाको दिनसमेत आवेदन लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
इच्छुक उम्मेदवारहरूले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दर्खास्त दिन सक्नेछन्।
निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, साथै पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्नाका क्रममा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइसकेकाहरूलाई प्राथमिकता दिइने उल्लेख छ।
यसैगरी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी सुरक्षा निकायमा सेवा गरी अवकाश प्राप्त नेपाली नागरिकहरू पनि आवेदन दिन योग्य रहनेछन्।
प्रहरी प्रधान कार्यालयले निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन पर्याप्त जनशक्ति परिचालन आवश्यक रहेकाले ठूलो संख्यामा निर्वाचन प्रहरी माग गरिएको जनाएको छ।

