काठमाडौं, पुस २५, २०८२ : निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आवश्यक परेमा राजनीतिक दललाई देशभरका मतदाताको विवरण निश्चित शुल्क लिएर उपलब्ध गराउने व्यवस्था गरेको छ।
आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका अनुसार देशभरको मतदाता नामावली लिन चाहने दर्ता प्राप्त राजनीतिक दलले १० हजार रुपैयाँ शुल्क तिरेर विवरण प्राप्त गर्न सक्नेछन्। सो विवरण दलको औपचारिक पत्रको आधारमा उपलब्ध गराइने आयोगले जनाएको छ।
आयोगका अनुसार मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण मात्र विद्युतीय रूपमा उपलब्ध गराइनेछ। यस्तो विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत प्रदान गरिने व्यवस्था गरिएको छ। कुनै दललाई एक प्रदेशको मात्र मतदाता नामावली आवश्यक परेमा ५ हजार रुपैयाँ शुल्क तिरेर लिन सकिनेछ।
निर्देशिकाअनुसार निर्वाचन अधिकृतले कुनै मतदाता, राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा प्रतिलिपि बनाउन चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्नेछ।
फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको मतदाता नामावली जोसुकैले पनि हेर्न सक्ने व्यवस्था गरिएको छ। यससम्बन्धी जानकारी मतदाता, राजनीतिक दल तथा उम्मेदवारलाई दिनुपर्ने निर्देशिकामा उल्लेख छ।
यस्तै, कुनै मतदाताले आफ्नो नामको मतदाता नामावलीको प्रतिलिपि चाहेको खण्डमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सोही मतदाताको विवरण मात्र उपलब्ध गराउनुपर्नेछ।
आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निवेदनको आधारमा जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावली विद्युतीय रूपमा उपलब्ध गराइनेछ। त्यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि ३ हजार रुपैयाँ र कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावलीका लागि पनि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

