काठमाडौं, पुस २५, २०८२ — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरूले निर्वाचन लक्षित तयारी, सुरक्षा रणनीति र समन्वयको अवस्थाबारे जानकारी गराएका हुन् ।
बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनका लागि एकीकृत सुरक्षा योजना पारित भइसकेको र सोही योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच समन्वय र सहकार्यका साथ सुरक्षा व्यवस्थापन अघि बढाइएको जानकारी दिइयो ।
नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु मुलुकको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि नेपाली सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए । निर्वाचन अवधिमा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी आवश्यक गृहकार्य भइरहेको र जोखिम हुन सक्ने क्षेत्र तथा समूहलाई लक्षित जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताए ।
थापाले विगतका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थ नष्ट भइसकेको जानकारी दिँदै कतै फेला परेमा तत्काल सूचना आदान–प्रदानका आधारमा बम डिस्पोजल टोली परिचालन गरिने स्पष्ट पारे ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुरवेदीले विस्फोटक पदार्थ फेला पर्नुभन्दा नयाँ बम बनाउने मानसिकता नै ठूलो चुनौती भएको टिप्पणी गरे । उनले निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्ती निरन्तर सञ्चालन भइरहेको जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिने विश्वास व्यक्त गरे ।
उनका अनुसार निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।
सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, अतिरिक्त जनशक्ति परिचालन र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई सुरक्षित, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

