जुनियर गल्फमा नेपालको चमक, तीन खेलाडी एसिया ग्रान्ड फाइनलमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २५ पुस २०८२ — नेपाली गल्फमा नयाँ पुस्ताले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाएको छ । प्रकृत तामाङ, सोहम अग्रवाल र अवानी राईले उत्कृष्ट प्रदर्शन गर्दै फाल्डो जुनियर टुर एसियाको ग्रान्ड फाइनलमा स्थान सुरक्षित गरेका छन् ।

ब्वाइज १७–२१ वर्ष उमेर समूहमा प्रकृत तामाङले समग्र उपाधिसहित प्रतियोगिता जित्दै सबैभन्दा प्रभावशाली प्रदर्शन गरे । अन्तिम दिन इभन–पार ६८ स्कोर गरेका उनले कुल ९–ओभर २१३ स्कोरसहित उपाधि जिते । पहिलो दुई दिन अग्रतामा रहेका स्वप्निल भट्टराईलाई उनले २ स्ट्रोकले पछि पारे ।

तेस्रो दिन खेल सुरु गर्दा तीन स्ट्रोकले पछि रहेका प्रकृतले फ्रन्ट नाइनमा आक्रामक खेल प्रस्तुत गर्दै अग्रता लिएका थिए । ब्याक नाइनमा स्थिर प्रदर्शन गर्दै उनले उपाधि सुनिश्चित गरे । स्वप्निल भट्टराई ११–ओभर २१५ सहित दोस्रो भए भने सिद्धान्त सापकोटा तेस्रो स्थानमा रहे ।

ब्वाइज १२–१६ वर्ष समूहमा सोहम अग्रवालले निरन्तरता देखाउँदै च्याम्पियन बने । १७–ओभर २२१ स्कोरसहित उपाधि जितेका उनले प्रतिस्पर्धी रूबेन थापालाई ४ स्ट्रोकले पराजित गरे ।

गल्सतर्फ अवानी राईले कडा प्रतिस्पर्धामा बेलायतकी एमिली लो ग्लुडाइसलाई १ स्ट्रोकले पछि पार्दै उपाधि जितिन् । अन्तिम दिनको खेलमा अवानीले संयमित खेल प्रस्तुत गर्दै समग्र २५२ स्कोरमा प्रतियोगिता समाप्त गरिन् ।

नेपाल गल्फ संघको आयोजनामा सम्पन्न तीन दिने प्रतियोगितामा ४१ खेलाडी सहभागी थिए । प्रतियोगिताबाट छनोट भएका तीनै खेलाडीले आगामी मार्चमा भियतनाममा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

Leave a Comment