कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो, विशेष महाधिवेशन रोक्ने रणनीति छलफल हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस २६, २०८२ — नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको विवादका बीच केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा परिसरमा बस्ने गरी तय गरिएको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सबै प्रदेश सभापतिलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ। विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेपछि त्यसको राजनीतिक तथा संगठनात्मक असरबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ।

इतर समूहले भोलि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन गर्ने तयारी गरिरहेको छ। त्यसको पूर्वसन्ध्यामा आज दिउँसो विशेष महाधिवेशन पक्षधरले पदयात्रा आयोजना गरेका छन्। कार्यक्रम दिउँसो १ बजे भृकुटीमण्डपबाट सुरु भई बागबजार हुँदै पुनः भृकुटीमण्डपमै पुगेर समापन गर्ने तालिका छ।

विशेष महाधिवेशन पक्षधरले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता निरन्तर बढिरहेको दाबी गरेका छन्। उनीहरूका अनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरमार्फत् आह्वान गरिएको विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

यद्यपि संस्थापन पक्षले भने विशेष महाधिवेशन अवैध रहेको दाबी गर्दै त्यसमा सहभागी नहुन प्रतिनिधिहरूलाई आग्रह गरिरहेको छ। केही जिल्लाले हस्ताक्षर फिर्ता लिँदै वैशाखमा तय भएको नियमित महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेका छन्। तर हालसम्म खुला रूपमा समर्थन जनाउने प्रतिनिधि संख्या ५० प्रतिशतभन्दा बढी रहेको इतर पक्षको भनाइ छ।

विशेष महाधिवेशनलाई चुनौती दिने रणनीतिअन्तर्गत संस्थापन पक्षले भोलि र पर्सि पार्टी केन्द्रीय कार्यालय सानेपामा युवा भेला तथा जिल्ला सभापतिहरूको छुट्टाछुट्टै भेला आयोजना गर्ने तयारी गरेको छ। दुवै पक्ष आ–आफ्नो अडानमा अडिग देखिँदा कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।

Leave a Comment