रास्वपा–उज्यालो नेपाल एकता प्रयास विफल, पद र नाममै अड्कियो सहमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २६ पुस — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच हुन लागेको एकता अन्ततः टुटेको छ। केही सातादेखि चलिरहेको दुई पक्षीय वार्ता शनिबारसम्म पनि निष्कर्षमा पुग्न नसकेपछि एकता प्रक्रिया औपचारिक रूपमा रोकिएको हो।

वार्तामा संलग्न नेताहरूका अनुसार उज्यालो नेपाल पक्षले रास्वपामा वरिष्ठ उपसभापति, महामन्त्रीलगायत महत्वपूर्ण पदको माग गर्नुका साथै पार्टीको नामसमेत परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि सहमति बिग्रिएको हो। रास्वपा नेतृत्वले यी मागहरू पूर्वसहमतिको भावना विपरीत रहेको भन्दै स्वीकार नगरेपछि एकताको सम्भावना टरेको बताइएको छ।

पछिल्ला दिनहरूमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को उपस्थितिमा समेत छलफल भएका थिए। तर ती भेटघाटहरूबाट पनि साझा निष्कर्ष ननिस्किएको वार्तामा सहभागी एक नेताले बताए।

ऊर्जामन्त्री पदबाट राजीनामा दिएपछि कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नभएको र रास्वपासँग भएको समझदारी कार्यान्वयनको चरणमा नपुगेको सार्वजनिक रूपमा बताउँदै आएका छन्। यद्यपि, उनी र रास्वपा सभापति रवि लामिछानेबीच पटक–पटक संवाद भएको स्रोतको दाबी छ।

एकता प्रयास असफल भएपछि दुवै दलले आगामी राजनीतिक रणनीति अलग–अलग ढंगले अघि बढाउने संकेत दिएका छन्।

Leave a Comment