५ असोज, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नियुक्ति र शपथग्रहण कार्यक्रम भोलि हुने भएको छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो समूहभित्रको गहन छलफलपछि पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र पूर्वराज्य पुनर्संरचना संयोजक डा. मदन परियारलाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।
सिफारिसअनुसार पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ती र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालय हालसम्म गृहमन्त्री ओमप्रकाश अर्यालको मातहतमा रहेको थियो ।
अतिरिक्त स्वास्थ्य सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने भएपछि आइतबार नै राजीनामा दिएकी थिइन् । उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बटुलेका पत्रकार खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व दिने सिफारिस गरिएको छ । उनी हाल इमेज टेलिभिजनका समाचार प्रमुख थिए ।
कृषि विज्ञ डा. मदन परियारलाई कृषि विकास तथा पशुपंछी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ । परियार तत्कालीन राज्य पुनर्संरचना आयोगका संयोजकसमेत रहेर काम गरिसकेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व दिने सिफारिस गरिएको छ । उनले पछिल्लो समय वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनर्जीवित गर्दै विभिन्न उपकरण विकासमा सक्रिय भूमिका खेलेका छन् ।
राष्ट्रपतिको कार्यालयले शपथग्रहण भोलि हुने जनाएको छ ।



Leave a Reply