मदुरो पक्राउपछि भेनेजुएला तनावमा : जेलबाट सन्देश, सडकमा समर्थक, तेलमा अमेरिकाको नजर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काराकास, २८ पुस — पूर्व राष्ट्रपति निकोलस मदुरो अमेरिकी सेनाद्वारा पक्राउ परेपछि भेनेजुएलाको राजनीतिक अवस्था थप तरंगित बनेको छ। न्यूयोर्कस्थित जेलमा रहेका मदुरोले आफू ‘ठीक’ रहेको सन्देश पठाए पनि देशभित्र असन्तोष, प्रदर्शन र अन्तर्राष्ट्रिय कूटनीतिक चासो एकसाथ बढिरहेको छ।

जनवरी ३ मा काराकासमै रातको समयमा गरिएको अमेरिकी सैन्य कारबाहीपछि मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्क लगिएको थियो। उनीहरूमाथि लागूऔषध ओसारपसार र हतियार कारोबारसम्बन्धी आरोपमा मुद्दा चलाइएको छ।

जेलबाट मदुरोको सन्देश

मदुरोका छोरा निकोलस मदुरो गुएराले सार्वजनिक गरेको भिडियो सन्देशमा मदुरोले जेलमा आफ्नो अवस्था सामान्य रहेको बताएका छन्। यो सन्देशपछि समर्थकहरू सीमित संख्यामा भए पनि सडकमा उत्रिएका छन्।

काराकासमा साना तर प्रतीकात्मक प्रदर्शन

काराकासका केही क्षेत्रमा मदुरो समर्थकहरू पार्टी झण्डा र प्लेकार्डसहित भेला भएका छन्। ‘निकोलस र सिलिया नफर्किएसम्म आन्दोलन जारी रहन्छ,’ ६९ वर्षीया प्रदर्शनकारी सोलेदाद रोड्रिगेजले भनिन्।
तर अघिल्ला वर्षहरूमा देखिने विशाल प्रदर्शनको तुलनामा यसपटकको उपस्थिती निकै न्यून देखिएको छ। मदुरो शासनका प्रमुख अनुहारहरू गृहमन्त्री डियोस्डाडो काबेलो र रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजसमेत र्‍यालीमा देखिएनन्।

राजनीतिक बन्दीको मुद्दा फेरि केन्द्रमा

मदुरो पक्राउपछि अमेरिकाले भेनेजुएलामा रहेका राजनीतिक बन्दीहरूको रिहाइलाई प्रमुख मुद्दा बनाएको छ। अधिकारवादी समूहहरूका अनुसार देशमा ८०० देखि १२०० सम्म राजनीतिक बन्दी छन्। हालसम्म २१ जनामात्र रिहा गरिएको बताइएको छ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले ‘देशमा शान्ति स्थापनाका लागि’ बन्दी रिहाइ प्रक्रिया अघि बढाइने बताएकी छन्। तर वासिङ्टनले यसलाई आफ्नै कूटनीतिक दबाबको परिणाम भएको दाबी गरेको छ।

जेलबाहिर पीडित परिवारको प्रतिक्षा

काराकासस्थित एल रोडियो र एल हेलिकोइड कारागार बाहिर बन्दीका आफन्तहरू मैनबत्ती बाल्दै प्रतीक्षामा बसेका छन्।
‘म थाकिसकेँ, तर आशा छ—छोरा चाँडै छुट्नेछ,’ दुई रातदेखि जेल बाहिरै सुतेकी ५७ वर्षीया नेब्रास्का रिभास भन्छिन्।

यसैबीच, ‘देशद्रोह’ आरोपमा हिरासतमा रहेका एक प्रहरी अधिकारीको मृत्यु भएको घटनाले मानवअधिकारसम्बन्धी चिन्ता झन् गहिरिएको छ।

तेल राजनीति : अमेरिकाको रणनीतिक चाल

मदुरो पक्राउसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँच सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ह्वाइट हाउसले तेल बिक्रीबाट प्राप्त अमेरिकी स्वामित्वको आम्दानी जफत हुन नदिन आपतकालीन आदेश जारी भएको जनाएको छ।

शेभरोन हाल प्रतिबन्ध छुटमार्फत भेनेजुएलामा काम गर्न पाउने एक मात्र अमेरिकी कम्पनी हो। तर विज्ञहरू भन्छन्—वर्षौंको कुव्यवस्थापन र प्रतिबन्धका कारण भेनेजुएलाको तेल पूर्वाधार जीर्ण अवस्थामा पुगेको छ।

दूतावास र सुरक्षा चिन्ता

वासिङ्टनले काराकासस्थित अमेरिकी दूतावास पुनः खोल्ने सम्भावनाबारे छलफल भएको पुष्टि गरेको छ। यद्यपि, कोलम्बियास्थित अमेरिकी दूतावासले भेनेजुएलाको सुरक्षा अवस्था अझै कमजोर रहेको भन्दै अमेरिकी नागरिकलाई अवसर मिल्नासाथ देश छाड्न आग्रह गरेको छ।

Leave a Comment