काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन बोलाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारमन्त्री जगदीश खरेलले सरकारका निर्णयहरू सार्वजनिक गर्दै आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी महत्वपूर्ण निर्णयहरू भएको जानकारी दिए।
सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ सम्मका लागि स्वीकृत गरेको छ। यस रणनीतिले बैंकिङ, वित्तीय पहुँच, नियमन तथा समग्र आर्थिक स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी, सरकारले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ पनि स्वीकृत गरेको छ, जसलाई मानव अधिकार संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
अन्तर्राष्ट्रिय दायित्व अन्तर्गत नेपालले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) का सदस्य राष्ट्रको हैसियतमा सन् २०२४ को वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५०३ अमेरिकी डलर भुक्तानी गर्ने निर्णय गरेको छ।
यसै बैठकले सन् २०२५ मार्चमा गएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारका ऐतिहासिक संरचना—महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिर—को पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
प्रशासनिक निर्णयअन्तर्गत सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारी (भक्तपुर) लाई नियुक्त गरेको छ।
सरकारका यी निर्णयहरूलाई संसद् सञ्चालन, आर्थिक सुधार, मानव अधिकार संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ।

