कांग्रेस आधिकारिकता विवादमा निर्वाचन आयोग सक्रिय, देउवा–थापा दुवै पक्षको दाबी परीक्षण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २ माघ २०८२ ।
नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा औपचारिक अध्ययनको चरणमा प्रवेश गरेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनमार्फत सभापति चयन भएको दाबी गर्दै आएका गगन थापा पक्षका निवेदनमाथि आयोगले एकसाथ अध्ययन थालेको हो।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगअन्तर्गतको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले दुवै पक्षका दाबी, कागजात र कानुनी आधारको अध्ययन गरिरहेको छ। अध्ययन सकेपछि प्रतिवेदन आयोगको नियमित बैठकमा पेश गरिने उनले जानकारी दिए।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको दाबी गर्दै थापा पक्षले आयोगमा आधिकारिकता मागसहित निवेदन दिएको छ। सो निवेदनमा विशेष महाधिवेशनका निर्णयअनुसार पार्टी अभिलेख अद्यावधिक गर्न र आगामी निर्वाचनमा उम्मेदवारको मनोनयनपत्रमा गगन थापाको हस्ताक्षर कायम गर्न आग्रह गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता माघ ६ गते तोकिएकाले आधिकारिक हस्ताक्षर कसको हुने भन्ने विषय निर्णायक बनेको छ। हालसम्म आयोगको अभिलेखमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवाको हस्ताक्षर मान्य रहेको छ।

यता, देउवा पक्षले भने विशेष महाधिवेशन नै अवैधानिक रहेको दाबी गर्दै आयोगमा आपत्ति दर्ता गराएको छ। ‘जानकारी सम्बन्धमा’ शीर्षकमा बुझाइएको निवेदनमा नेपाली कांग्रेसको नाममा कुनै औपचारिक विशेष महाधिवेशन आयोजना नभएको उल्लेख गरिएको छ।

आधिकारिकता विवाद टुंगोमा नपुगी निर्वाचन प्रक्रिया अगाडि बढ्दा जटिलता उत्पन्न हुन सक्ने देखिएपछि आयोगले अध्ययनलाई प्राथमिकतामा राखेको छ। विवादकै बीच आज देउवा पक्षका नेता तथा कार्यकर्ताहरू आयोगको कार्यालय कान्तिपथ पुगेका छन्।

अब निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको नेतृत्व विवाद मात्र होइन, आगामी निर्वाचन प्रक्रियामा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

Leave a Comment