जनकपुरधाम, मंसिर २३ – जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी तथा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर (हिरा) साहलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
धनुषा प्रहरीले दिएको जानकारीअनुसार साहसहित चार जनाविरुद्ध करिब दुई हप्ता अगाडि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। सोही उजुरीका आधारमा भारततर्फ रहेकालाई निगरानीमा राख्दै नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको प्रवक्ता डीएसपी गणेश बमले पुष्टि गरे।
यसअघि घटनामा संलग्न भएको आरोपमा साहका नातेदार मनोज महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी दुई अभियुक्तको खोजी जारी छ।
साह २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जनकपुरधामका मेयर उम्मेदवार थिए। आगामी निर्वाचनमा उनी बलियो प्रतिष्पर्धीका रूपमा हेरिएको अवस्थामा बलात्कारसम्बन्धी गम्भीर आरोपले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

