काठमाडौं, २ माघ २०८२ ।
हङकङको चुनमुन क्षेत्रमा बिहीबार साँझ प्रहरीको गोली लागेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। चुनमुन टाउन प्लाजा सपिङ सेन्टर नजिकै चक्कु बोकेर आतंक सिर्जना गरेका ती व्यक्तिमाथि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो।
स्थानीय समयअनुसार साँझ करिब ७ बजे भएको घटनामा चक्कु बोकेका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले एक महिलालाई बन्धक बनाएका थिए। बटुवाको ज्यान जोखिममा परेपछि गोली चलाउनु बाहेक अन्य विकल्प नरहेको प्रहरीको भनाइ छ।
गोली लागेपछि गम्भीर घाइते भएका उनलाई तत्काल चुनमुन अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनास्थल चुनवुई रोडस्थित चुनमुन टाउन हल नजिकै रहेको बताइएको छ। मृत्यु हुने व्यक्ति ३४ वर्षीय हङकङ आईडी कार्डधारी पुरुष रहेको पुष्टि भएको छ।
प्रहरीका अनुसार मृतकको परिवारबाट प्राप्त जानकारीका आधारमा उनी मानसिक समस्याबाट ग्रसित रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। साथै, उनी लागुऔषध दुर्व्यसनी हुन सक्ने आशंका पनि गरिएको छ, किनकि उनको झोलाबाट लागुऔषधको प्याकेट फेला परेको छ।
घटनासम्बन्धी सबै पक्षलाई समेटेर थप अनुसन्धान भइरहेको हङकङ प्रहरीले जनाएको छ।

