काठमाडौँ, ५ माघ ।
दक्षिणी स्पेनमा भएको भीषण रेल दुर्घटनामा कम्तीमा २१ जनाले ज्यान गुमाएका छन् भने ७० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये करिब ३० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको रेल कोर्डोबा प्रान्तअन्तर्गत आदामुज नगर नजिकै अचानक ट्रयाक परिवर्तन भएपछि विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किएको हो । म्याड्रिडबाट हुएल्भातर्फ जाँदै गरेको रेलसँग ठोक्किएपछि दुवै रेल क्षतिग्रस्त भएका थिए ।
स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले दुर्घटनालाई ‘अत्यन्तै अप्रत्याशित’ भन्दै उक्त रेलमार्ग केही महिनाअघि मात्रै मर्मत गरिएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार साँझ ६ः४० बजे मालागाबाट प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटनामा परेको थियो ।
निजी रेल सेवा प्रदायक कम्पनी इर्योका अनुसार दुर्घटनाग्रस्त उच्चगतिको रेलमा करिब ३०० यात्रु सवार थिए । अर्कोतर्फ, सरकारी कम्पनी रेन्फेले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए ।
दुर्घटनाको ठोस कारण अहिलेसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धान सुरु गरिएको र पूर्ण निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।
दुर्घटनाप्रति स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले देशले ‘अत्यन्त पीडादायी रात’ भोग्नुपरेको बताएका छन् ।
यसैगरी, राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि शोक सन्देश जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों तथा युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लेयेनले समेत दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
यसअघि सन् २०१३ मा गालिसिया क्षेत्रमा भएको उच्चगतिको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो, जुन स्पेनको इतिहासकै सबैभन्दा ठूलो रेल दुर्घटना मानिन्छ ।

