काठमाडौं, माघ ६, २०८२ : एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित निकाल्दै उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्यो।
मछिन्द्रको जितमा सनीस श्रेष्ठ र जोनाथन जोरिल्लाले एक–एक गोल गरे। खेलको अन्त्यतिर एक गोलले पछि परेको अवस्थामा मनाङका विशेष लामाले इन्जुरी समयमा गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि मछिन्द्रले लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) लाई १–० ले हराएको थियो। मनाङ भने यसअघि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५–० को फराकिलो हार बेहोरेपछि लगातार दोस्रो पराजयमा परेको हो।
सोमबारकै अन्य खेलमा सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा लालिगुँरास फुटबल क्लबले नव जनजागृति क्लबमाथि ४–१ को प्रभावशाली जित दर्ता गर्यो। त्यस्तै, दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ ले पराजित गर्यो।
लिग अन्तर्गत आज (माघ ६) एन्फा कम्प्लेक्समा बिहान ११ बजे नेपाल पुलिस क्लब र चित्लाङबीच खेल हुनेछ भने दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइजबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।

