मङ्गलबार, ६ माघ २०८२
काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा चिनियाँ नागरिकलाई लक्षित गरी विस्फोट भएको छ। सोमबार साँझ काबुलको सहर–ए–नौ क्षेत्रमा पर्ने गोल्फुरुसी स्ट्रिटमा विस्फोट भएको हो।
अफगान समाचार माध्यम टोलो न्युजका अनुसार सुरक्षा स्रोतले उक्त आक्रमणमा चिनियाँ नागरिकहरूलाई नै निशाना बनाइएको पुष्टि गरेका छन्। घटनामा मृत्यु हुने तथा घाइते हुनेको यकिन विवरण भने हालसम्म सार्वजनिक भइसकेको छैन।
त्यस्तै, समसाद न्युजले विस्फोट चिनियाँ रेस्टुरेन्टमा भएको जनाएको छ। प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ कि विस्फोटका कारण रेस्टुरेन्टमा रहेका चिनियाँ र अफगानी नागरिकहरू घाइते भएका छन्।
काबुल प्रहरी कमान्डका प्रवक्ता खालिद जद्रानले पनि विस्फोटको पुष्टि गर्दै सामाजिक सञ्जाल एक्समा सहर–ए–नौ क्षेत्रको एक होटलमा विस्फोट भएको र केही व्यक्ति घाइते भएको जानकारी दिएका छन्।
घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन। सुरक्षा निकायले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।






