आज उम्मेदवारविरुद्ध उजुरी दिने दिन, निर्वाचन प्रक्रिया निर्णायक चरणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बुधबार, माघ ७, २०८२
काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया निर्णायक मोडमा पुगेको छ। निर्वाचन आयोगले आज (बुधबार, माघ ७, २०८२) उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिने दिन रहेको जनाएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता भएका प्रत्यासीमाथि कानुनअनुसार उजुरी दिन सकिने व्यवस्था गरिएको हो।

निर्वाचन आयोगका अनुसार उजुरी परेपछि माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारी पत्र र उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णय गरिनेछ। सोही दिन साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ।

यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। नाम फिर्ता प्रक्रिया सम्पन्न भएपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम देशभर शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष रहेका छन्। यस्तै, अपाङ्गता भएका ८५ जना तथा पिछडिएको क्षेत्रका १३८ जना उम्मेदवार निर्वाचनमा सहभागी भएका छन्।

उम्मेदवारी फिर्ता र निर्वाचन चिह्न वितरणपछि उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचार–प्रसारमा सक्रिय हुने अपेक्षा गरिएको छ।

Leave a Comment