सर्लाही, माघ ७
सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सरोज कुमारले काम, परिणाम र जनजीवनलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले परम्परागत भाषणमुखी राजनीतिभन्दा माथि उठेर प्रत्यक्ष रूपमा जनताको जीवनमा परिवर्तन देखिने काम गर्ने धारणा सार्वजनिक गर्नुभएको हो।
डा. सरोज कुमारका अनुसार अबको राजनीति सत्ता, पद वा व्यक्तिमा सीमित हुनुभन्दा पनि जनताको दैनिकीसँग जोडिनु आवश्यक छ। “जहाँ भाषणभन्दा काम बोल्छ, वाचाभन्दा परिणाम देखिन्छ र राजनीतिभन्दा जनताको जीवन प्राथमिकतामा पर्छ,” भन्ने उहाँको भनाइले सर्लाही–२ मा नयाँ राजनीतिक बहस सुरु भएको छ।
उहाँले नेपाली काँग्रेस र जनताको सम्बन्ध बलियो बनाएर मात्रै वास्तविक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। लामो समयदेखि उही अनुहार र उही शैलीको राजनीतिले निराश भएका मतदाताहरू अहिले नयाँ सोच, नयाँ ऊर्जा र जिम्मेवार नेतृत्वको खोजीमा रहेको सन्दर्भमा डा. सरोज कुमारलाई वैकल्पिक नेतृत्वका रूपमा हेरिन थालेको स्थानीयहरू बताउँछन्।
स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र आधारभूत सेवाको सुधारलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै जनताको दैनिकीसँग प्रत्यक्ष जोडिने विकासमा ध्यान दिने उहाँको भनाइ छ। व्यावसायिक दक्षता, स्वच्छ छवि र जनमुखी सोचका कारण विभिन्न समुदायबाट उहाँप्रति समर्थन बढ्दै गएको जनाइएको छ।
यसपटक सर्लाही–२ को निर्वाचनलाई परम्परागत राजनीतिबाट बाहिर निस्केर परिणाम दिने नयाँ नेतृत्व रोज्ने अवसरका रूपमा हेरिएको छ। यही सन्दर्भमा डा. सरोज कुमारको उम्मेदवारीलाई इमानदार नेतृत्व र वास्तविक परिवर्तनको आशाका रूपमा मतदाताहरूले लिन थालेका छन्।

