काठमाडौं- १ असोज ।
सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज (असोज १ गते) देशभर सार्वजनिक बिदा दिएको छ।
गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा कम्तिमा ७२ जना युवाको ज्यान गएको थियो। उनीहरूको सम्झनामा भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोकका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारी निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्था तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरू बन्द रहनेछन्। साथै, मुलुकभर राष्ट्रिय झण्डा आधा झुकाएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ।
यसअघि मंगलबार काठमाडौंको पशुपति आर्यघाटमा सामूहिक श्रद्धाञ्जलीसहित राष्ट्रिय सम्मानका साथ अधिकांश मृतक युवाहरूको अन्त्येष्टि गरिएको थियो। केही युवाहरूको शव उनीहरूकै गृह जिल्लामा पुर्याइ अन्त्येष्टि गरिएको हो।
यो राष्ट्रिय शोक दिवसलाई सरकारले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने अवसरका रूपमा लिएको छ।


