काठमाडौं, माघ ८ — प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया औपचारिक रूपमा अर्को चरणमा प्रवेश गरेको छ । निर्वाचन आयोगले आज देशभरबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।
आयोगका अनुसार मंगलबार मनोनयन दर्ता सम्पन्न भएपछि बुधबार उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरिएको थियो । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी लिइएको र सोही दिन साँझसम्म जाँचबुझको प्रक्रिया पनि पूरा भइसकेको छ । यसपछि आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ९ गते शुक्रबार उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइनेछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
आयोगको तथ्यांकअनुसार हालसम्म ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये ३,०८९ जना पुरुष, ३९६ जना महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन् ।
यसपटक संसद विघटनपछि समयअगावै निर्वाचन हुन लागेको हो । जेनजी आन्दोलनको पृष्ठभूमिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ ।
निर्वाचनमा सहभागी हुनका लागि एक करोड ८९ लाखभन्दा बढी मतदाता सूचीकृत भएका छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता रहेका छन् ।
निर्वाचन आयोगले शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्र बनाएको जनाएको छ ।

