काठमाडौं, १५ माघ — निर्वाचन आचारसंहिता लागू भएको दस दिन नबित्दै उल्लंघनका दुई दर्जन नजिक घटना सतहमा आएका छन्। निर्वाचन आयोगका अनुसार यस अवधिमा २१ वटा आचारसंहिता उल्लंघनका घटना दर्ता भएका छन्, तर तीमध्ये केवल पाँच वटाको मात्रै स्पष्टीकरण प्राप्त भएको छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई ले आयोगले सोधेको स्पष्टीकरणमा अधिकांश पक्षबाट अझै जवाफ नआएको जानकारी दिए। बाँकी पक्षलाई जवाफ दिन ताकेता प्रक्रिया जारी रहेको उनले बताए।
आगामी २१ फागुनमा हुने निर्वाचन लाई लक्षित गर्दै आयोगले ४ माघदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो। आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन अनुगमन तथा कारबाही प्रक्रिया एकसाथ अघि बढाइएको छ।
आर्थिक पारदर्शितामा विशेष जोड
निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। यसका लागि आयोगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ भने राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक परिपत्र जारी गरिसकेको जनाएको छ।
जिल्लास्तरमा अनुगमन संयन्त्र सक्रिय
आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आयोगले देशभरका ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। यी अधिकृतले आर्थिक बाहेकका विषय हेर्नेछन्।
यस्तै, प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई आर्थिक पक्षको अनुगमन जिम्मेवारी दिइएको छ। यसले निर्वाचन खर्च, आर्थिक चलखेल र वित्तीय अनुशासनको निगरानीलाई थप कडा बनाउने आयोगको अपेक्षा छ।
निर्वाचन नजिकिँदै जाँदा आयोगले अनुगमन, उजुरी संकलन, छानबिन र स्पष्टीकरण प्रक्रियालाई थप सक्रिय बनाउने संकेत दिएको छ। आयोगका अधिकारीहरूका अनुसार आचारसंहिता उल्लंघनमा संलग्न पाइएमा कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।

