काठमाडौं, १८ माघ – नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको आज दिउँसो १२:४५ बजे उपचारका क्रममा मृत्यु भएको हो।
सिटौला अछाममा आयोजित एक राजनीतिक कार्यक्रममा सहभागी भइरहेका बेला अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याएर ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो।
अस्पतालका चिकित्सकहरूका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज (मस्तिष्कको रक्तस्राव) भएको थियो। गम्भीर अवस्थाका बाबजुद ४८ घण्टासम्म गरिएको सघन उपचारपछि पनि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार नदेखिएको अस्पतालले जनाएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार चिकित्सकीय प्रोटोकल अनुसार गरिएको एप्निया परीक्षण पोजेटिभ देखिएको थियो, जसले बिरामीमा स्वतः श्वासप्रश्वास नदेखिएको पुष्टि गरेको थियो। त्यसपछि चिकित्सकहरूले परिवारलाई अवस्थाबारे जानकारी गराउँदै मृत्यु घोषणा गरेका हुन्।
सिटौला नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए। उनको निधनले सञ्चार तथा चलचित्र वृत्तमा शोकको वातावरण छाएको छ।






