माघ १९, जनकपुरधाम। भारतको बिहार राज्यमा नेपाली नक्कली नोट छाप्ने अन्तर्राष्ट्रिय गिरोहविरुद्ध ठूला स्तरको कारबाही भएको छ। भारतीय सुरक्षाकर्मीले सञ्चालन गरेको संयुक्त अपरेसनमा तीन नेपालीसहित १० जनालाई पक्राउ गर्नुका साथै अत्याधुनिक छपाइ केन्द्र ध्वस्त पारिएको छ।
सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)ले छापा मार्दा नेपाली रुपैयाँ लक्षित गरेर सञ्चालन भइरहेको ‘हाइटेक प्रिन्टिङ सेटअप’ फेला परेको भारतीय प्रहरीले जनाएको छ। कारबाहीका क्रममा करिब २५ लाख बराबरका नक्कली नेपाली नोट, १ लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, र १ हजार ८५० नक्कली भारतीय नोट बरामद गरिएको छ।
त्यसैगरी, नक्कली नोट उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रिन्टिङ मेसिन, विशेष कागजका २२ बण्डल, रसायन तथा अन्य उपकरण समेत जफत गरिएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग हुँदै आएका तीन मोटरसाइकल र एउटा कार पनि नियन्त्रणमा लिइएको छ।
निर्वाचन लक्षित योजना भएको प्रारम्भिक निष्कर्ष
प्रारम्भिक अनुसन्धानले गिरोहले खुला नेपाल–भारत सीमाको फाइदा उठाउँदै नक्कली नोट नेपाल भित्र्याउने योजना बनाएको देखाएको छ। स्रोतका अनुसार आसन्न प्रतिनिधि सभा निर्वाचनको समयलाई लक्षित गर्दै ठूलो मात्रामा नक्कली रकम बजारमा पठाएर आर्थिक तथा राजनीतिक गतिविधिलाई प्रभावित पार्ने उद्देश्य रहेको आशंका गरिएको छ।
भारतीय सुरक्षास्रोतले यो गतिविधिलाई केवल आर्थिक अपराध नभई निर्वाचन प्रक्रिया र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर खतरा का रूपमा लिएको बताएका छन्। पक्राउ परेकाहरूको नाम हालसम्म सार्वजनिक गरिएको छैन भने अन्य सदस्य र मुख्य योजनाकारको खोजी तीव्र बनाइएको छ।
सीमावर्ती क्षेत्रबाट तस्करीको नयाँ स्वरूप
मधेश प्रदेशका सर्लाही, महोत्तरी र रौतहट आसपासका क्षेत्रबाट पुरुष, महिला र बालबालिका प्रयोग गरी सानो–सानो परिमाणमा नक्कली नोट नेपाल भित्र्याउने प्रवृत्ति बढ्दो रहेको सुरक्षा स्रोतको भनाइ छ। यसले सुरक्षाकर्मीलाई नियमित चेकजाँच कडा बनाउन थप चुनौती सिर्जना गरेको छ।
भारतीय प्रहरीले नक्कली नोटको सञ्जाल तोड्न उच्च प्राथमिकतामा अनुसन्धान अघि बढाएको जनाएको छ भने नेपाल–भारत दुबै देशका सुरक्षा निकायबीच समन्वय पनि बढाइएको बुझिएको छ।






