२३ श्रावण,बारा: नेपाल महिला संघको ७८औं स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस बाराको बीपी भवनमा विशेष कार्यक्रमको आयोजना गरी संस्थापक नेता बीपी कोइरालाको योगदानलाई स्मरण गरिएको छ।
कार्यक्रमको प्रारम्भमा बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। संघका बाराका अध्यक्ष कलावती पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरूले बीपी कोइरालाको लोकतान्त्रिक समाजवादी विचारधाराबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उपस्थित वक्ताहरूले बीपीको सिद्धान्तलाई आजको राजनीतिक तथा सामाजिक सन्दर्भमा अझ सशक्त रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए। महिलाहरूको सशक्तिकरण, समानता र अधिकार सुनिश्चित गर्न बीपीले देखाएको बाटो अझै सान्दर्भिक रहेको उनीहरूले बताए।
स्थापना दिवसको अवसरमा विभिन्न नेतृहरूले नेपाल महिला संघले इतिहासभर खेलेको भूमिका र योगदानलाई स्मरण गर्दै संघलाई अझ सक्रिय, जागरुक र संगठनात्मक रूपमा सबल बनाउन आह्वान गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, महिला संघका पदाधिकारी तथा क्रियाशील महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


