काठमाडौँ, माघ २३, २०८२ । सरकारले सङ्घीय संसद्मा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले आज अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको थियो। राष्ट्रियसभाको १७औँ अधिवेशनमा दर्ता भएको यो विधेयक हाल विधायन व्यवस्थापन समितिमा छलफलको क्रममा थियो।
विधि विज्ञान प्रयोगशाला विधेयक पारितको प्रस्ताव
आजकै राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम छ। यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरिने संसद् सचिवालयले जनाएको छ।
निकुञ्ज समस्यादेखि सांस्कृतिक सम्पदासम्म छलफल
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याबारे अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
यस्तै, राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बिहान ११ बजे बस्ने बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
सरकारको यस कदमलाई सामाजिक सञ्जालसम्बन्धी विधेयकमा देखिएको विवादलाई व्यवस्थापन गर्दै सहमतिमा आधारित कानुनी प्रक्रिया अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।






