मन्त्री टुंगो, भोलि शपथ ग्रहण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

भदौ २९, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार प्रारम्भ भएको छ । बालुवाटार स्रोतका अनुसार अर्थ, गृह र ऊर्जा मन्त्रालयमा जिम्मेवारी पाउने तीन मन्त्रीको नाम निश्चित भएको छ ।

अर्थ मन्त्रालय रामेश्वर खनालले सम्हाल्ने भएका छन् भने ओमप्रकाश अर्याल गृहमन्त्रीको रूपमा भोलि शपथ ग्रहण गर्न लागेका छन् । अर्यालले कानुन मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी पाउनेछन् । ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम तय भएको छ । घिसिङलाई ऊर्जा बाहेक भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ ।

स्रोतका अनुसार, ‘यो प्रारम्भिक सूची मात्र हो, जिम्मेवारी थपिन सक्ने सम्भावना छ । नियुक्तिको पत्र तयार भइसकेको छ, शपथ भने भोलि बिहान हुनेछ ।’

खनाल हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका हैसियतले सरकारलाई प्रतिवेदन बुझाइसकेका थिए । उनी पूर्वसचिव हुन् । कानुन व्यवसायी अर्याल सामाजिक आन्दोलन र कानुनी मुद्दाका कारण चर्चित रहेकामा पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा सक्रिय थिए ।

विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङ ऊर्जा क्षेत्रमा सुधारका कारण लोकप्रिय बनेका थिए । उनी केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा बर्खास्तीमा परेका थिए ।

Leave a Comment